काठमाडौँ, साउन ९  । उपभोक्ताको विश्वसनियताको लागि प्रविधियुक्त तौलने मेसिन प्रयोग गर्ने व्यापारीले अब पसलमा ढक तराजु  राख्नुपर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले यसै महिनादेखि लागू हुने गरी ढक राख्न व्यापारीलाई निर्देशन दिएको हो ।

dhaktarajuक्षेत्रीय कार्यालयका प्रमुख शशीभूषण यादवले तौलने यन्त्रमा मानिसले मिटर बिगारेर ठगी गरिरहेको उजुरी कार्यालयमा आउन थालेपछि निर्देशन दिइएको बताउनुभयो । प्रत्येक व्यापारीले तौलने यन्त्रसँगै ढक नराखे कानुन बमोजिम कारबाही गरिने यादवले बताउनुभयो ।

साउन एक गतेदेखि अहिलेसम्म एकसय जनाभन्दा बढीले क्षेत्रीय कार्यालयमा तौलने यन्त्र ल्याएर नापजाँच गरी ढक तराजु  राखिसकेको कार्यालयले जनाएको छ । हाल क्षेत्रीय कार्यालयअन्तर्गतका जिल्लामा ५० हजार व्यापारीले नापतौल दर्ता गरेर सञ्चालनमा ल्याइसकेका छन् ।।