काठमाडौं । आज भएको राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभातर्फ ३१३ र प्रदेशतर्फ ५१८ जनाले मतदान गरेका छन् ।

बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माका अनुसार दिउँसो ३ बजेसम्ममा राष्ट्रपति निर्वाचनको मतदानको कार्य अन्तिम चरणमा पुगेको हो।

यसअघि राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले सङ्घीय संसद्का ३३१ र प्रदेश सभाका ५५० गरी जम्मा ८८१ मतदाता नामावली प्रकाशन गरेको थियो।

मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहेका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन् । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद उपचारका लागि चीन र भारतमा रहेका छन् ।

त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् ।

राष्ट्रपति पदमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सभामुख एवम् नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ दुई जना उम्मेदवार छन् ।