काठमाडौं । क्रोएसिया पठाइदिने भन्दै तीन नेपाली युवालाई मानव तस्करले युद्धग्रस्त युक्रेन पुर्याएका छन् । म्याग्दीका दुई र बाग्लुङका एक युवालाई गत डिसेम्बरमा विद्यार्थी भिसामा युक्रेन पुर्याइएको हो । अवैध प्रवेशका कारण उनीहरू जेल पर्न सक्ने जोखिममा परेका छन् ।
काठमाडौं मनमैजुका डम्बरबहादुर विकले आफूहरूलाई क्रोएसिया पठाइदिने भन्दै विद्यार्थी भिसामा युक्रेन पुर्याएको पीडित युवाहरूले अनलाइनमार्फत नयाँ पत्रिकालाई बताए । विक मनमैजु थ्री स्टार होटेलका सञ्चालक हुन् । विकलाई १० लाख र करिब पाँच लाख भारतीय तथा स्थानीय एजेन्टलाई भुक्तानी गरेको पीडितहरूको भनाइ छ ।
क्रोएसिया लैजाने भन्दै उनीहरूलाई प्रतिनिधिसभा निर्वाचनको भोलिपल्ट काठमाडौंबाट हिँडाइएको थियो । काठमाडौंबाट सडकमार्ग हुँदै मुम्बई पुर्याइएका उनीहरूलाई १० दिन त्यहाँ राखेर १६ डिसेम्बरमा माल्दोभा ९युक्रेनको छिमेकी मुलुक० उडाइयो । माल्दोभाको ट्रान्जिट भिसा पाएको र त्यहाँ झरेपछि ट्याक्सी चढेर दुई घन्टामा युक्रेन पुगेको पीडितहरूले बताए । उनीहरूका अनुसार विकले युद्धको समस्या देखाएर युक्रेनबाट कोएसिया प्रवेश गराउने आश्वासन दिएर पठाएका थिए ।
अवैध प्रवेश भन्दै २३ जनवरीमा स्थानीय आर्मीले उनीहरूलाई पक्राउ गर्यो । विद्यार्थी भिसाको सबै कागजपत्र हुँदाहुँदै पनि आर्मीले पक्राउ गरेर ‘युरोप फरार भएको’ केसमा कारबाही गरेको उनीहरूले बताए । आर्मीले उनीहरूको रेसिडेन्ट पर्मिटसमेत खारेज गरिदिएको छ । त्यति मात्र होइन युक्रेनको अदालतले ३० दिनभित्र मुलुक छाड्न आदेश दिएकोमा अल्टिमेटमको समय सकिइसकेको छ । अब प्रहरीले पक्राउ गरे जेल जानुपर्ने त्रास रहेको युवाहरूले बताए । नयाँ पत्रिकाबाट











