चितवन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आगामी वैशाख १० गते हुने भएको छ। निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै १० वैशाख ०८० मा उपनिर्वाचन गर्ने निर्णय भएको जनाएको छ।
नागरिकताको विषयमा सर्वोच्च अदालतको फैसलासँगै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित रवि लामिछाने अयोग्य भएसँगै आयोगले उपनिर्वाचन गर्न लागेको हो। चुनाव तयारीका लागि ७० दिनको समय हुने गरी मिति तोकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।
उपनिर्वाचनको मिति तोक्नुअघि आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरेको थियो। प्रधानमन्त्रीले आयोगलाई उपयुक्त लागेको समयमा चुनाव गर्न सुझाव दिएका थिए।











