काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्ने दावी गरेका छन् ।
आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “पार्टीको स्थायी समिति बैठकले दुई महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानुछ। दुई महिना पार्टीका तल्ला कमिटीमा जान्छौँ, कार्यकर्ता र जनतासँग अन्तरक्रिया गर्छौं।दुई महिने अभियानले हाम्रो अवस्था र कार्यकर्ता, जनताको आकांक्षा पहिचान हुन्छ।त्यसको आधारमा केन्द्रीय समितिको पूर्ण बैठक बसेर पार्टीको व्यापक रूपान्तरण गर्छौं।”
सरकारको नेतृत्व चुनौतीपूर्ण अवसर रहेको भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेको बताए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको बताउदै सरकारलाई विश्वासको मत दिने पार्टीको भावनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।











