काठमाडौं, १२ माघ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अब फेसबुक र इन्स्टाग्राम चलाउन पाउने भएका छन् ।
फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने प्रविधि कम्पनी मेटाले ट्रम्पमाथि लगाइएको निलम्बन फुकुवा गरेपछि फेसबुक र इन्स्टाग्राममा फर्किन पाउने भएका हुन् । मेटाले दुई वर्ष अगाडि गरेको निलम्बन आउँदो हप्ता सकिदैछ ।
सन् २०२१ मा अमेरिकी संसद् भवन क्यापिटलमा दङ्गा भएपछि ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चितकालका लागि निलम्बन गरिएको थियो । ट्रम्पको सामाजिक सञ्जाल खाताको समीक्षा गर्दा त्यसले अब सार्वजनिक सुरक्षामा गम्भीर जोखिम नपर्ने देखिएको क्लेगलाई उद्धृत गरी बीबीसीले जनाएको छ । तर ट्रम्पले विगतमा गरेका गल्ती पुनः गरेमा थप कारबाही हुनसक्ने जनाएको छ ।
नियम उल्लङ्घन गरेको भन्दै ट्विटरले पनि ट्रम्पलाई सन् २०२१ को जनवरी ६ तारिखमा भएको घटनापछि प्रतिबन्ध लगाएको थियो । तर गएको नोभेम्बरमा ट्विटरमा लगानीकर्ता इलोन मस्कले ट्रम्पको खातामा लगाइएको रोक हटाइएका थिए । तर ट्रम्प अहिलेसम्म ट्विटरमा फर्किनुभएको छैन ।











