काठमाडौं, ९ साउन । व्यवस्थापिका संसदमा पेश भएको अविश्वास प्रस्तावमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिनुहुनेछ । सबै सांसदको बोल्नेक्रम क्रम सकिएपछि प्रधानमन्त्रीले जवाफ दिने र त्यसपछि मतविभाजन सुरु हुने संसद सचिवालयले जनाएको छ ।
शुक्रबारदेखि सुरु भएको अविश्वास प्रस्तावमाथिको छलफलमा सत्तापक्ष र प्रतिपक्षका सांसदले आआफ्नै तर्क प्रस्तुत गरेका छन् । अविश्वास प्रस्तावका प्रस्तावक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीमाथि सुरु गर्नुभएको घोचपेच कांग्रेस र मधेसी मोर्चाका सांसदले पनि निरन्तरता दिइरहेका छन् ।
प्रचण्डले ओलीलाई एकलौटी सरकार सञ्चालन गरेको तथा संघीयता मन नपराउने नेता भनेर पनि टिप्पणी गर्नुभएको छ ।।
