काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । आफूलाई विश्वासको मत दिने दलहरूसँग राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल गरेर जाने भन्दै प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका हुन् । राजकीय पदहरूको लागि अब हुने निर्वाचनमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएको बताएका छन् ।

सभामुख/उपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्न बैठक बोलाइएको प्रचण्डको भनाइ छ । ‘विश्वासको मत दिने सबै पार्टी र नेताहरूको बैठक छ, त्यसबाट थाहा हुन्छ,’ सोमबार ओलीसँगको भेटपछि प्रचण्डले भनेका थिए । प्रतिनिधिसभामा माघ ५ गते सभामुखको निर्वाचन हुँदै छ ।

माघ २८ गतेसम्म राष्ट्रपतिको पनि निर्वाचन गरिसक्नु पर्नेछ ।