पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले सोमबार ‘ब्ल्यास बक्स’ फेला पारेको हो । विमान दुर्घटनाको कारण पत्ता लगाउने मुख्य आधार ‘ब्ल्याक बक्स’लाई मानिन्छ । उक्त बक्समा ‘फ्लाइट राडर’ (उडानको समयमा रहेको विमानबारे जानकारी),

‘ककपिट भ्वाइस’ (पाइलट र को–पाइलटको कुराकानी)लगायत रेकर्ड रहन्छ । सहसेनानी सरोज कोइरालाले नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भरतराज पराजुलीलाई हस्तान्तरण गरेको ‘ब्ल्याक बक्स’ उनले आइतबार गठित ‘विमान दुर्घटना जाँच आयोग’लाई बुझाएका छन् । उक्त सरकारी समितिले सोमबारदेखि आफ्नो कामसमेत सुरु गरिसकेको छ ।

ब्ल्याक बक्स भेटिए पनि दुर्घटनामा परेका दुईजना अझै भेटिएका छैनन् । सोमबार बिहानैदेखि दुर्घटनास्थलमा खटिएको टोलीले थप दुईजनाको शव भने भेट्टाएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । शवको पहिचान भने भएको छैन ।

उक्त विमानमा चालक दलका सदस्यसहित ७२ सवार थिए । आइतबार बिहान १०ः३० मा काठमाडौंबाट उडेको यती एयरको ९एन–एनसी, एटिआर–७२ विमान अवतरणअघि १०ः५७ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै नयाँगाउँस्थित सेती खोँचमा खसेको थियो ।