काठमाडौँ । सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा टुंग्याएको छ । बालुवाटारमा करिब पाँच घण्टा बसेको बैठकले दलहरुले पाउने मन्त्रालयको टुंगो लागाएको हो ।
सहमतिअनुसार एमालेले ८, माओवादीले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३–३ र जनमत पार्टीले १ मन्त्रालय पाउनेछन् । जसपाले भने ३ मन्त्रालय मागेपछि उसलाई दिने मन्त्रालयबारे टुंगो लागेको छैन । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहा हुने व्यवस्था नभएसम्म सरकारमा नजाने अडान लिएको छ ।
दलले पाउने मन्त्रालयबारे सहमति भएपनि अन्तिम रुप भने दिइएको छैन । जसका लागि आज बिहान गठबन्धनको बैठक बस्दैछ । माओवादीले स्वास्थ्य, संचार तथा प्रविधि र भूमिसुधार पाउने अनौपचारिक सहमति भए पनि त्यसमा हेरफेर हुने संभावना छ । एमाले एमालेले रक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उडयनलगायत मन्त्रालय लिने छ । एमालेले दुई राज्यमन्त्रीसहित ८ मन्त्रालय लिने सहमति भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृह, शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ । उपसभामुख पनि स्वतन्त्र पार्टीलाई दिने सहमति भएको बताइन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाइ र अरु दुई मन्त्रालय पाउने भएको छ । पार्टीको नेतृत्व गर्दै अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जा मन्त्रीको रुपमा सरकारमा जानेछन् ।
सत्ता गठबन्धनले बिहान बैठक गरी मन्त्रालय भागबन्डामा थप समीक्षा गर्नेछ । दलहरुले मन्त्रीको नाम शपथग्रहण गर्नुअघि प्रधानमन्त्रीलाई दिनेछन् । त्यसपछि मन्त्रीको शपथ दिउँसो १ बजे हुने मोटामोटी तय भएको छ । मन्त्रीहरूको शपथपछि अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्ने जनाइएको छ ।











