बाँके, २८ पुस । गृह मन्त्रालयको निर्देशनपछि बाँके जिल्लामा सञ्चालित सबै क्रसर उद्योग बन्द गरिएका छन् । हाल सञ्चालनमा रहेका १७ वटा क्रसर उद्योग अवैध तथा मापदण्ड विपरीत पाइएपछि ती सबै उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
जिल्लामा २२ वटा क्रसर उद्योगहरु रहेकोमा पाँचवटा पहिले नै बन्द अवस्थामा रहेको र १७ वटा सञ्चालनमा रहे पनि मापदण्ड नपुगेकाले बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिएका छन् ।
जिल्लामा सञ्चालित अवैध तथा मापदण्डविपरीतका क्रेसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयबाट आएको निर्देशनको पालना गरेर विकास निर्माणका काममा प्रयोग गरिएका वैध उद्योगबाहेक अन्य सबै क्रसर बन्द गरिएको बाँके प्रहरीले जनाएको छ ।











