दाङ, २६ पुस । दाङ तुलसीपुरका एक व्यापारीलाई ‘हनिट्रयाप’मा पारेर ५ करोड माग्ने महिला कारागार चलान भएका छन् । ‘हनिट्रयाप’ की मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले उनलाई जेल पठाउन आदेश दिएको हो । सिंहका दुईवटा नागरिकता भएकोसमेत भएको जनाइएको छ ।

त्यस्तै तुलसीपुर–१८ ग्वारखोला निवासी ३६ वर्षीया कृष्णीकुमारी बस्नेतलाई पनि कारागार चलान गरिएको छ । उनलाई अदालतले १ लाख धरौटी तोकेको थियो । तर धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको हो । हनिट्रयापको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । तीमध्ये आपराधिक लाभ मुद्दा चलाइएका घोराही–१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी भने १ लाख धरौटीमा छुटेका छन् ।

‘ब्ल्याकमेलिङ’ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिँदै ती पुरुषसँग उनीहरुले ५ करोड माग गरेका थिए । उनीहरूले पटक–पटक गरी ३० लाख लगिसकेको खुलेको छ । पीडित पुरुषले मुख्य योजनाकार सिंहलाई ‘स्कुटरको लाइसेन्स’ र दुईवटा नागरिकता बनाउन सहयोग गरेकोसमेत खुलेको छ । पीडित भनिएका तुलसीपुरका ती पुरुष प्रेम खड्कालाई पनि सरकारी कागज कीर्ते गरेको मुद्दा चलाइएको छ । खड्कालाई भने साधारण तारेखमा छुटेका छन् ।