काठमाडौं, २६ पुस । प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेसहितका दलहरुको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदबाट विश्वासको मत लिदैछन् ।
दाहाललाई एमालेका ७९, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका चार सांसदले विश्वासको मत दिने निश्चितजस्तै छ । साथै सरकारलाई समर्थन गरेका स्वतन्त्र सांसदहरू प्रभु साह र डा. अमरेशकुमार सिंहले पनि विश्वासको मत दिँदैछन् ।
यसरी सात राजनीतिक दल र दुई स्वतन्त्र सांसद गरी १६९ सांसदले विश्वासको मत दिने तय भएको छ । तर, सुविधाजनक बहुमतको समस्या नभए पनि प्रधानमन्त्री प्रचण्ड दुईतिहाइ जुटाउने प्रयासमा छन् । १० सिट रहेको एकीकृत समाजवादी र चार सिट रहेको लोसपाले मात्रै विश्वासको मत दिए सरकारको पक्षमा दुईतिहाइ पुग्छ । दाहालले सरकारका रहनका लागि १३८ र दुईतिहाइका लागि १८३ सदस्यको मत आफ्नो पक्षमा पार्नुपर्छ ।











