काठमडौ ८ साउन । प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज पनि छलफल हुने भएको छ । हिजोदेखि सुरु भएको छलफलमा आज सांसदहरुले भाग लिने छन् ।
अविश्वासको प्रस्ताव ठीक वा वेठिक भन्नेमा दलअनुसार दलहरु विभाजित भएका छन् । नौ महिनाअघि गठित केपी ओली नेतृत्वको सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथि संसद्मा हिजोबाट छलफल सुरु भएको छ ।
सत्ता साझेदारीबाट असार २८ मा बाहिरिएको माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी कांग्रेसबीच गठबन्धनले प्रस्तुत गरेको अविश्वास प्रस्तावका पक्षमा मधेस केन्द्रित दलहरूको मोर्चा थपिएकाले संसद्बाट अविश्वास प्रस्ताव पारित हुने देखिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनमा प्रस्तुत गरेको अविश्वास प्रस्तावमाथि छलफल, प्रधानमन्त्रीको जवाफ र मतदानका लागि सभामुख ओनसरी घर्तीले आज र भोलिको समय तोक्नु भएको छ । सांसदहरुले प्रस्तावमा भनाई राखेपछि प्रधानमन्त्रीले जवाफ दिनुहुनेछ । त्यसपछि प्रस्तावमा मतदान हुनेछ ।
संसदको आजको बैठक बिहान ११ बजे बोलाइएको छ । संसदमा हाल कायम रहेको सदस्य संख्याअनुसार अविश्वासको प्रस्ताव पारित हुन संसद्मा २ सय ९८ मत आवश्यक पर्छ ।
माओवादी–कांग्रेस गठबन्धनले यो अविश्वासको प्रस्तावको पक्षमा ३ सय ४१ सदस्य अहिले नै तयार भइसकेको दाबी गरेको छ ।