रूपन्देही, ११ पुस । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी ३५ तोला सुन र १८ लाख रुपैयाँसहित पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार राति उनकै निवासबाट ३५ तोला सुन र १८ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए । बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न उनले व्यापारीसँग नगद रकम लिएको भन्ने सुराकीकाआधारमा सीआईबीको टोलीले उनीमाथि छानबिन अगाडि बढाएको थियो । डिएसपी केसीको साथबाट १८ लाख नगद र ३५ तोला सुन फेला परेको सीआईबीले जनाएको छ ।
स्थानीय व्यवसायी खिलेन्द्र जिसीले बोकेको झोलामा सुन फेला परेको थियो । केसी शक्तिको आडमा गलत धन्दामा सक्रिय भएको बताइएको छ ।











