नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नवनियुक्त प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्।
प्रचण्डलाई भेटेर बाबुरामले बधाई दिँदै देशलाई समृद्ध बनाउन सहकार्य गर्न प्रस्तावसमेत राखेका हुन्।
प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सोमबार बिहान बाबुरामले प्रचण्डलाई भेटेका छन्। प्रचण्ड गोरखा २ बाट चुनाव जितेका थिए। भट्टराईले यसअघि गोरखा २ बाट चुनाव जित्दै आएका थिए। भट्टराईले प्रचण्डका लागि गोरखा २ छाडेका थिए भने आफ्ना पार्टीका नेताहरूलाई माओवादीको चुनाव चिन्हबाट चुनाव लडाएका थिए।
‘क.प्रचण्ड तेश्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाइ तथा पूर्ण सफलताको शुभकामना,’ बाबुरामले भनेका छन्, ‘क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धीहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौं।’











