देउखुरी, १० पुस । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङको देउखुरीबाट प्रदेश सभा सचिवालयको सबै कामकाज हुने भएको छ ।
यसअघि अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेश सभा सचिवालयको सबै कामकाज पुस ११ गतेदेखि दाङबाटै सुरु हुनेछन् । लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार अबको प्रदेश सभा बैठक र नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ पनि देउखुरीमै राख्ने गरी तयारी भइरहेको छ ।
प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यका दाङको देउखुरी क्षेत्रमा पुगिसकेका छन् । दाङमा सबै मन्त्रालयको कार्यालय स्थापना भइसकेको छ । ५ करोड २० लाख रुपैयाँ लागतमा प्रदेश सभा भवन तयार भइसकेको छ ।











