नवलपरासी, ७ साउन
नवलपरासीको सदरमुकाम परासी र आसपासका क्षेत्र डुवानमा परेको छ । गएराति परेको वर्षाका कारण स्थानीय झरही नदी र रामखण्डा नदीमा आएको बाढीले सदरमुकाम परासी बजार पुरै जलमग्न भएको छ ।
दुवै नदीमा आएको बाढीले परासी बजारका सयौँ घर डुवानमा परेका छन ।
राती मानिसहरु सुतिरहेको समयमा बाढी आएकाले मानविय क्षति नभएपनि करोडौँको धनसम्पत्ति क्षति भएको छ । घर भित्रै पानी पसेपछि मानिसहरु घर छोडेर हिँडन थालेका छन भने दुई तल्ला माथि गएर बस्न थालेका छन । बाढी झन बढ्दै गएपछि मानिसहरु त्रसित रहेका छन ।
कतिपय रातभर जाग्राम बसेका थिए । सदरमुकाम परासी सहित सुनवल, तथा दक्षिणी क्षेत्रका अधिकांश भाग डुवानमा परेको प्रहरीले जनाएको छ । सडकमा हिँडन तथा सवारी चलाउन समेत नसकिएपछि प्रहरी र नेपाली सेनाको टोली पनि उद्धारका लागि जान नसक्दा क्षतिको विवरण आउन सकेको छैन । सदरमुकाममा सरकारी कार्यालय, तथा घरहरुमा घुँडा सम्म आउने गरि पानी पसेको छ ।
पानीका कारण पहिलो तलामा रहेका कागजपत्र तथा सामानहरु नष्ट भएका छन । नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले रातीको समयमा डुवान परेकाले क्षतिको विवरण अहिले सम्म प्राप्त नभएको बताउनुभयो । उहाँले मानिसहरुलाई अग्लो स्थानमा गएर बस्न, राहत तथा उद्धारको आवश्यकता परेमा तत्काल सुरक्षाकर्मीलाई खबर गर्न समेत अनुरोध गर्नुभएको छ ।,