इन्द्रेणी संवाददाता
दाङ, २८ मंसिर । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालयले आजबाट प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट शुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन गरिएको छ ।
कार्यालयको उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गरी गरेका गरे । कार्यालय उद्घाटन गर्दै प्रमुख शेरचनले प्रदेशसभाको दुई तिहाइले तोकिएको स्थायी राजधानीको कार्यान्वयन गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले सो क्षेत्र खेतीयोग्य र उर्वर रहेको भन्दै यहाँको यो गौरवतालाई जोगाइ राख्न सबै लाग्नुपर्ने बताए ।
कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकालको अन्तिम चरणमा प्रदेशसभाको दुईतिहाइ वहुमतले पारित गरेको स्थायी राजधानीको कार्यान्वयन गर्न गरेको बताए । उनले प्रदेश सरकारले शिक्षा स्वास्थ्य, सडकलगायतका क्षेत्रमा योजना बनाएर काम गरिरहेको बताए । पछिल्लो समयमा लुम्बिनी प्रदेश सरकारले शिक्षालाई प्रविधियुक्त र गुणस्तरीयका काम गर्दै शिक्षा सुधारका काम अघि बढाएको मुख्यमन्त्री केसीको भनाइ थियो ।
त्यस्तै मुख्य गौरवका आयोजनाअन्तर्गत पाल्पा–रामपुर, रोल्पा–जिनावाङ्लगायतका सडक योजनाका साथै यस प्रदेशका १२ वटै जिल्लालाई सडक सञ्जालले जोड्ने गरी सकृट बनाएर काम गरिरहेको बताए । त्यस्तै स्वास्थ्य क्षेत्रमा वर्दियाको खजुरामा प्राविधिक विश्वविद्यालयको स्थापना गर्नेलगायतका योजना अघि सारेको केसीले जानकारी दिए ।
मुख्यमन्त्री केसीले राजधानी कार्यान्वयन भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मंसिर १९ गते बुटवलबाट राप्ती उपत्यकामा ल्याएका थिए । २०७७ असोज २० मा प्रदेश सभाबाट प्रदेशको स्थायी राजधानी र नाम टुंगो लागेको थियो । स्थायी राजधानी तोकिएको दुई वर्षपछि कार्यान्वयनमा आएको हो ।











