विश्वकप फुटबलमा सहभागी हुनु अघिसम्म अर्जेन्टिनाले एउटा विश्व कीर्तिमान बनाउने अपेक्षा थियो समर्थकको।

३६ खेलसम्म अपराजित रहेको अर्जेन्टिना इटालीले ३८ खेलसम्म बनाएको अपराजित यात्राको कीर्तिमान तोड्ने संघारमा थियो। तर साउदी अरेबियासँगको पहिलो खेलमा ब्योहोरेको हारसँगै अर्जेन्टिनाको त्यो अपेक्षा पूरा भएन।

तर अर्जेन्टिना विश्वकप फुटबलको पहिलो हारसँगै सम्हालियो। आफ्नो पुरानै विरासतमा फर्कियो। त्यसैले अर्जेन्टिना यो पटक उपाधि भन्दा दुई खेल टाढा छ।अर्जेन्टिनाको खुसीका अगाडि लियोनेल मेसी छन्। उनले विश्वकपमा नकआउटमा गोल गर्न नसकेको आफ्नो खराब रेकर्डको अन्त्य यसै विश्वकपमा गरे।

अनि उनको फर्म नै यो पटक विपक्षीका लागि टाउको दुखाई बन्यो। मेसीले नै अर्जेन्टिनालाई सेमिफाइनलसम्म पुर्याए। क्वाटरफाइनलको दुई गोलमा मेसीले दुबै गोलमा आफ्नो उपस्थिति देखाएका थिए।

त्यसैले सेमिफाइनलमा क्रोएसियाका लागि पहिलो टाउको दुखाई यिनै मेसी बन्नेछन्। जसका लागि क्रोएसियाले उनलाई रोक्ने भरपुर प्रयास गर्ने छ। क्रोएसिया आफैं भने विश्वकपमा मेसीको मात्र होइन सिंगो अर्जेन्टिनाको बेगलाई निस्तेज पार्दै लगातार दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ।​

अर्जेन्टिना भने यो पटक निरन्तर फाइनलमा भोगेको असफलताको अन्त्य चाहन्छ। त्यसो त अर्जेन्टिनाले २०१८ मा फाइनलमा भोग्ने गरेको निरासाजनक विगतको औपचारिक अन्त गरेको छ।

त्यसैले अब उसले विश्वकपको फाइनल हारको समेत अन्तको पहिलो प्रयासमा सेमिफाइनलमा क्रोएसियाको दबाबलाई टार्न चाहन्छ।अर्जेन्टिनाले २००७, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा गुमाएको विगत २०१८ मा उपाधि जित्दै अन्त गर्यो। अब उसले २०१४ को विश्वकपको फाइनल गुमाएको विगतलाई अन्त गर्नका लागि पहिलो खुट्किलो पार गर्न क्रोएसियालाई आज मध्यरातमा पाखा लगाउनु पर्ने छ।