विराटनगर – संसदीय निर्वाचनमा पहिलो पटक हार व्यहोरेका कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले भावी सरकार नेपाली कांग्रेस र एमाले मिलेर बनाउनु पर्ने बताएका छन् । चुनावमा पराजयपछि पत्रकारहरुसँग पहिलो पटक नजिकिएका गच्छदारले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन नै आयोजना गरेर कांग्रेस–एमाले नेतृत्वको नयाँ गठबन्धनको आवश्यकताबारे बोलेका हुन् ।

गच्छदारले विगतमा एमाले र माओवादीबीच गठबन्धन भएर झण्डै दुईतिहाई ल्याएपनि त्यो सरकार टिक्न नसकेको, अहिले फेरि कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेर चुनाव भएपनि बहुमतका लागि धौधौ परेको भन्दै अब कांग्रेस–एमालेबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

‘प्रचण्ड–ओलीबीच पनि झण्डै दुई तिहाईको सरकार बनेर चल्न सकेन, देउवा नेतृत्वको गठबन्धनले पनि राजनीतिक स्थिरता दिन सकेन, बहुमत ल्याउन धौ धौ पर्यो’ गच्छदारले भने, ‘अब फेरि एक पटक कांग्रेस एमाले मिलेर सरकार चलाए म धेरै खुसी हुनेछु ।’
पहिलो र दोस्रो दल मिलेर सरकार चलाउँदा तेस्रो वा चौथो दल प्रतिपक्षमा हुने भएकोले संसदीय व्यवस्थालाई कुनैपनि अप्ठेरो नहुने उनले तर्क गरे । सरकार बनेपछि पाँच बर्षसम्म हल्लाउन नसकिने गरी बन्नुपर्ने बताए ।