काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् ।
आज यहाँ आयोजित फिन इलेक्ट्रो टेक(२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउनुपर्ने र यसले व्यापार घाटा कम गर्न समेत सहयोग गर्ने बताए । उनले विद्युत्को क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको समेत बताए ।
उनले पछिल्लो समय कोरोना महामारी र रसिया–युक्रेन युद्धका असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको बताए । विद्युत् बिक्री गर्नेभन्दा पनि खपतमा जोड दिनुपर्नेमा उनले जोड दिए ।
“विद्युत् बेच्नु पर्दैन अब विद्युत् बेच्ने जमाना गए, स्वदेशमै विद्युत्को खपत बढाउनुपर्छ”, उनले भने ।
कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा विद्युत् खपत बढ्दै जाँदा विद्युत्सम्बन्धी सामग्रीको बजार पनि बढ्ने बताए । भोलिका दिनमा १५ हजार मेगावाट विद्युत् खपत गर्न सकियो भने विद्युतीय सामग्रीसम्बन्धित बजारको पनि सुनिश्चितता हुने उनको भनाइ छ ।











