दाङ, ७ साउन
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उहाँले पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गर्नुभएको थियो ।
नेकपा खोल्नुभन्दा अगाडि विसं १९९८ मा उहाँले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गर्नु भएको थियो । विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गर्नुभएको थियो ।
उहाँ सहिद गङ्गालालका भाइ हुनुहुन्थ्यो । उहाँले स्थापना गर्नुभएको नेकपा विभिन्न चिरामा भए पनि अहिले वामपन्थीहरुको संसदमा राम्रो उपस्थिति छ भने कुनै समूह सदन बाहिरको भूमिकामा छन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । यसैविच, पुष्पलालको स्मृति दिवसमा आज नेकपा एमालले पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गर्नुभएका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।।
