काठमाडौं, १९ मंसिर । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा ८७ दल सहभागी भए । तर, तीमध्ये सात दल मात्रै राष्ट्रिय दलको मान्यता पाए ।
समानुपातिकतर्फको मतपरिणामका आधारमा निर्वाचन आयोगले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीलाई राष्ट्रिय दलको मान्यता दिएको छ । यी सात दलले कूल सदर मतको तीन प्रतिशत मत ल्याएर थ्रेसहोल्ड कटाए । थ्रेसहोल्ड कटाए पछि यी दलले राष्ट्रिय दलको मान्यता पाउने निर्वाचन आयोगले जनाएको छ ।
२०७४ को आमनिर्वाचनबाट पाँच वटा राजनीतिक दलहरूले राष्ट्रिय दलको मान्यता पाएका थिए । सो समयमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी राजपा र सङ्घीय समाजवादी फोरम, नेपालले थ्रेसहोल्ड कटाएका थिए ।
पाँच मध्ये यो पटक विगतमा राष्ट्रिय जनता पार्टी राजपाको नाममा रहेको अहिलेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मात्र राष्ट्रिय दलको हैसियत गुमायो । सबैको चासोको रुपमा रहेको नेकपा एमालेबाट चोइटिएको नेकपा एकीकृत समाजवादीले भने थ्रेसहोल्ड कटाउन सकेनन् ।
राष्ट्रिय दल के के सुविधा पाउछन् :
सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय दलको मान्यता प्राप्त गरेसँगै यी दलले संसद् सचिवालयबाट पाउने सेवा मात्र सुविधा पाउने छन् । राष्ट्रिय मान्यता पाएको दलले संसदीय दल गठन गर्न पाउने, दल गठन भएपछि दलको कार्यालय खोल्न पाउनेलगायतको सुविधा पाउने छन् ।
राष्ट्रिय दलले संसदमा एउटा संसदीय दलको कार्यालयसहित सांसदको सङ्ख्याअनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् । हरेक राष्ट्रिय दलको संसदीय दलका प्रमुख सचेतकले पनि संसद् सचिवालयबाट गाडीसहित सचिवालय र कर्मचारी सुविधा पाउने व्यवस्था छ ।
त्यस्तै राष्ट्रिय दलले हरेक निर्वाचनमा आफ्नो चुनाव चिह्न कायम राख्ने सुविधा पाउँछन् । तर राष्ट्रिय दलको मान्यता असफल भएका पार्टीहरूले हरेक निर्वाचनमा त्यही चुनाव चिह्न पाउँछन् भन्ने निश्चित हुँदैन ।











