रुकुम, ६ साउन
जिल्ला प्रशासन कार्यालय रुकुमले कुनै पनि मुद्धा दर्ता भएको सय दिन भित्रै फैसला गर्ने लक्ष्य लिएको छ । आफू रुकुम आइसकेपछि यो अभियानको थालनी गरेको प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले बताउनुभयो ।रुकुम आईसकेपछि कुनै पनि मुद्धा दर्ता भएको सय दिनमा काम गरेर भ्याउन सकिन्छ कि सकिदैन भनेर परिक्षण गर्दा आफू सफल भएको उहाँको भनाइ छ । अबदेखि यसलाई अभियानका रुपमा अघि बढाउने आचार्यले बताउनु भयो ।
अहिले जिल्ला प्रशासन कार्यालय रुकुममा सय दिन उताका कुनै पनि मुद्धा बाँकी नरहेको जानकारी दिनुभयो । ढिलो न्याय दिनु भनेको नदिनु सरह हुने भएकाले मुद्धा जतिसक्यो चाडो फैसला गर्नुपर्ने उहाँको तर्क छ ।
गत आर्थिक वर्षमा १७ ओटा मुद्धा दर्ता भएकोमा ६ ओटा फछ्यौट गरिएको र प्रकृयामा रहेका बाँकी पनि अब चाडै टुंग्याउने दावी गर्नुभयो । रुकुममा हातहतियार, सार्वजानिक अपराध लगाएतका मुद्धाहरु जिल्ला प्रशासन सम्म आउने गरेका छन् ।।
