काठमाण्डौ, ६ साउन
डाक्टर गोविन्द केसीले उठाएका मागका सम्बन्धमा सरकारले आज वार्ता गर्ने भएको छ । हिजो सरकारले बनाएको वार्ता टोलीले केसीका मागका विषयमा आज केसीपक्षको टोलीसँग वार्ता गर्नेछ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर डाक्टर गोविन्द केसीले सुरु गरेको अनसनको एघारौं दिन सरकारले हिजो वार्ता समीति गठन गरेको थियो ।
स्वास्थ्य सचिव सनेन्द्रराज उप्रेतीको संयोजकत्वमा गठन भएको वार्ता टोलीमा शिक्षा सचिव विश्व प्रकाश पण्डित र प्रधानमन्त्री कार्यालयको सम्बन्धित विषय हेर्ने सचिव हुनुहुन्छ । समितिले आज वार्ता गर्ने बताएपनि त्यसको थप तयारी गर्नुपर्ने भएकाले वार्ताको समय तय भएको छैन ।
केसीले उठाएका राजनीतिक माग वाहेकका विषयमा सरकारी समितिले वार्ता गर्नेछ । डाक्टर केसीले चिकित्सा शिक्षण संस्था नाफामुलक भएको बताउदै यसलाई सेवामुलक बनाउनुपर्ने लगायतका माग अघि सार्नु भएको छ ।
सरकारले चिकित्सा शिक्षा क्षेत्र सुधार कार्यदलले दिएको प्रतिवेदनका आधारमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन– २०७३’ को अन्तिम मस्यौदा तयार पारेको छ । शिक्षा मन्त्रालय र कानुन मन्त्रालयले सो ऐनको मस्यौदा तयार पारी संसद्मा पठाउन लागेका छन् ।।