काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनबाट पाँच शीर्ष नेता एवम् पूर्वप्रधानमन्त्री मध्ये चार निर्वाचित भए । एक जना भने पाँच वर्षका लागि संसदबाट आउट भएका छन् ।
निर्वाचनबाट डडेल्धुरा –१ बाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भए । देउवा १२ हजार ४९२ को फराकिलो मतान्तरले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पछि पार्दै विजयी भए । देउवा पाँच पटक प्रधानमन्त्री भइरहेका छन् ।
त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा – ५ बाट निर्वाचित भए । ओली २८ हजार ५७६ फराकिलो मतान्तरले कांग्रेसका खगेन्द्र अधिकारीलाई हराउदै ५२ हजार ३१९ मत ल्याएर निर्वाचित भए । ओली दुई पटक प्रधानमन्त्री भइसकेका हुन् ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु गोरखा – २ बाट निर्वाचिन भए । १३ हजार ४६४ को फराकिलो मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई पछि पार्दै २६ हजार १०३ मत प्राप्त गरी विजयी भए । उनी पनि दुई पटक प्रधानमन्त्री भइसकेका छन् ।
यस्तै पूर्वाप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट – १ बाट निर्वाचित भए । नेपाल ६ हजार ६०० को मतान्तरले एमालेका अजयकुमार गुप्तालाई ३३ हजार ५२२ मत ल्याएर निर्वाचित भए । नेपाल एक पटक प्रधानमन्त्री भइसकेका छन् ।
तर, यसपटकको निर्वाचनमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल इलाम – १ मा पराजय भोग्नु पर्यो । उनले नेकपा एमालेका महेश बस्नेतसँग दुई हजार ९५७ मतले पराजय भोग्नु परेको हो । बस्नेतले २४ हजार ३०४ मत ल्याउँदा खनालले २१ हजार ८०२ मत मात्र ल्याए । २०४८ पछिका छ मध्ये पाँचवटा चुनाव जितेका नेता खनाल यसपटक भने पराजित भएका छन् ।
खनालले विपक्षीबाट धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरेका छन् भने सो क्षेत्रमा समानुपातिक निर्वाचनको मतगणना भएपछि मात्र निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक रूपमा विजेता घोषणा गर्ने जनाएको छ ।











