काठमाडौँ- प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मौन अवधिमा ३० सञ्चार माध्यमले आचारसंहिता उल्लंघन गरेका छन्  । स्थिर अवधि सुरु भएको समय गएराति १२ बजेदेखि शुक्रबार अपरान्हसम्म २६ सञ्चार माध्यमयले आचारसंहिता उल्लंघन गरेकाे प्रेस काउन्सिल नेपालले जनाएको छ ।

६ सञ्चार माध्यमले भूलसुधार समेत गरिसकेका छन् । आगामी ४ गते प्रतिनिधि तथा प्रदेश सभाको एकसाथ निर्वाचन हुँदैछ ।

प्रेस काउन्सिलले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार २ रेडियो,११ पत्रपत्रिका, १६ अनलाइन सञ्चार माध्यम र १ वेबपोर्टलबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका छन् ।काउन्सिलले आचारसंहिता उल्लंघन गर्ने छापा माध्यमलाई स्पष्टीकरण माग गरी त्यस्ता सामग्रीको पुनरावृत्ति नगराउनेतर्फ सजग गराएको छ ।

रेडियो र टेलिभिजनलाई क्षमायाचनासहित भुल सुधार गर्न र उक्त सामग्री पुनः प्रसारण नगर्न- नगराउन भनेको छ । अनलाइन सञ्चार माध्यमको हकमा तत्काल हटाइ काउन्सिललाई जानकारी गराउन निर्देशन दिइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत  एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलको निर्देशनपश्चात् ६ वटा सञ्चार माध्यमले क्षमायाचनासहित सामग्री हटाइ आगामी दिनमा आचारसंहिता पालनामा थप सजगता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।मतदान सम्पन्न हुन अझै ४८ घण्टा बाँकी रहेको भन्दै काउन्सिलले राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार सामग्री सम्प्रेषण नगर्न-नगराउन एवं आचारसंहिता पालनामा अझ संवेदनशील हुन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई अपिल गरेको छ ।