नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ मा आमा छोरीको विभत्स तरिकाले हत्या गरिएको छ । सोमबार बेलुकी अन्दाजी ६ बजेको समयमा खुकुरी प्रहार गरी आमा छोरीको विभत्स रूपमा हत्या भएको घटनास्थलमै रहेका गाउँपालिका अध्यक्ष शंकर बहादुर थापाले केटिएम दैनिकलाई बताए।

Open photo

स्थानीय २१ वर्षीया सम्झना खतिवडा र उनकी चार वर्षीया छोरी कृष्टिना खतिवडाको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी रुपक खड्काले पुष्टी गरे ।

छिमेकी २० वर्षीय पुष्कल तामाङले धारिलो हतियार प्रहार गरी हत्या गरेको गाउँपालिका अध्यक्ष थापाले बताए । डिएसपी खड्काका अनुसार दुर्गममा भएकाले घटनास्थल पुग्न प्रहरीलाई समय लागेको थियो। प्रहरीले घटनास्थल घेरा हालेर अनुसन्धान सुरु गरेको छ।

Open photo

अध्यक्ष थापाका अनुसार दिउँसोदेखि घटनाका अभियुक्त भनिएका तामाङले हातमा खुकुरी बोकेर मान्छे मार्छु भन्दै हिँडेको स्थानीयले देखेका थिए। दिउँसो सडकमा हिँडिरहेको डोजर चलाउने ड्राइभरलाई समेत उनले खुकरी प्रहार गर्ने प्रयास गरेका थिए । घटनालगत्तै उनी गाउँबाट फरार रहेका खोजी जारी छ । ती युवकमा मानसिक समस्या समेत रहेको अध्यक्ष थापाले केटिएम दैनिकलाई बताए ।

मृतकका श्रीमान गाउँमा मेला गएका बेला हत्या भएको स्थानीयवासीले बताएका छन् । हत्या भएको घरमा पसल पनि थियो । पसलमा केही चिज किन्न आएको समयमा हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।आमाछोरी दुवैको गर्धनमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ। मृतकमध्ये आमाको शव घरको आँगनमा र छोरीको शव घरको मूल ढोका अगाडि भेटिएको हो।

हत्या भएको घर एकान्तमा रहेको छ। सो घर वरपर डेढ सय मिटरसम्म अरु घरहरू छैनन् । ती युवकको चप्पल घटनास्थलभन्दा केही पर भेटिएको छ । चप्पलमा रगत लतपतिएको देखिएको छ ।

No description available.