घोराही । घोराही क्षेत्रमा रहेका सेवानिवृत्त भारतीय सैनिकहरूले दाङ क्षेत्र नं. २ मा गठबन्धनका साझा उम्मेदवारहरूलाई समर्थन गरेका छन् । उनीहरूले गठबन्धनका उम्मेदवारहरूलाई औपचारिक कार्यक्रम गरेर स्वागत गर्दै समर्थन गरेका हुन्
कार्यक्रम बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराले मंसिर ४ गतेपछि पाँचै वर्ष गठबन्धनको सरकार बन्ने बताए । उनले संविधान रक्षा र मुलुकको आर्थिक समृद्धिका गठबन्धन निर्माण भएकाले जनताले साथ दिने विश्वास गरे ।
उनले भने, ‘यो निर्वाचन क्षेत्रमा रेखा शर्मासहित गठबन्धनका उम्मेदवारहरू विजयको नजिक हुनुहुन्छ । दाङको विकासको नेतृत्व पनि गठबन्धनले नै गर्ने छ ।’
प्रतिनिधिसभाका तीन र प्रदेश सभाका ६ ओटा निर्वाचन क्षेत्रमा अहिले गठबन्धनका उम्मेदवार एमालेका उम्मेदवारभन्दा निकै अघि भएको बताए ।उनले भने, ‘मैले एमालेका धेरै नेता कार्यकर्ताहरूलाई पनि भेटेको छु, उहाँहरू पनि अहिले गठबन्धनको पक्षमा देखिनुभएको छ । गठबन्धन दलहरू बीच पनि राम्रो एकता देखिएको छ ।’
मंसिर ४ गते पछि एमाले पाँचै वर्ष सरकार बाहिर रहने उल्लेख गर्दै महराले गठबन्धनले देशको समृद्धिको नेतृत्व गर्ने धारणा व्यक्त गरे ।‘गत स्थानीय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्रका २७ वटा वडाको मत विश्लेषण गर्ने हो भने गठबन्धन निकै अगाडि छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनको बेलाभन्दा अहिले गठबन्धनको एकता थप मजबुत भएको छ ।’
एमाले दाङका पुराना तथा इमान्दार नेता कार्यकर्ताहरूमा तीब्र असन्तुष्टि भएको उल्लेख गर्दै महराले त्यो मत गठबन्धनका उम्मेदवारलाई आउने दावी गरे ।










