नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्व मन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन्।

आज मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा क्षेत्र नं. २ ‘ख’ प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्दै नेता बस्नेतले अब आफ्नो सम्पूर्ण ध्यान भक्तपुर र राष्ट्रको विकास र समृद्धिको लागि हुने बताए ।

आफू र २ नं. क्षेत्रका एमालेको उम्मेदवारको लोभ भनेको नै विकास र समृद्धिको साथमा जनताको चाहना पुरा गर्नु रहेको उल्लेख गर्दै उनले बाँकी जीवन राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको पक्षमा रही देश विकासमा लाग्ने घोषणा समेत गरे ।

आफूले कुनै पनि कुराको नेतृत्व गर्दा आर्थिक लोभमा कहिले पनि नपरेको उल्लेख गर्दै अबका दिनमा अझ बढी सक्रियताका साथ नेपाललाई विकसित राष्ट्र बनाउन लाग्ने उनले बताए ।

बस्नेतले भने, ‘मेरो त घरमा बा आमाले कहिले काहीँ खाना नखाई पुग्यो र खाना छ कि छैन भनेर सोध्यो भने पनि खबर नै गरिनस् भन्नुहुन्छ । परिवारले समेत महेश बस्नेत राष्ट्रको छोरो, दाइ, भाइ भइसक्यो भन्ने बुझ्नुभएको छ । त्यसैले अब मेरो जीवनको बाँकी समय राष्ट्रको लागि हुनेछ । राष्ट्रको हितको लागि काम गर्दा कुनै प्रकारको लोभ लालच तथा आर्थिक अनियमितता, भ्रष्टाचार म बाट हुने छैन । म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको प्रतिबद्धतालाई शतप्रतिशत पुरा गर्नेछु ।’

गठबन्धनका दलहरूले विकास र समृद्धिको बारेमा जानकार समेत नरहेको उल्लेख गर्दै उनले गठबन्धन सरकार बनेको १८ महिनामा भक्तपुरमा कति बजेट आयो ? भनी प्रश्न समेत गरे । केपी ओली नेतृत्वको सरकारको पालामा भक्तपुरमा सङ्घीय सरकारबाट मा २६ अर्बभन्दा बढी बजेट ल्याई पूर्वाधारका क्षेत्रमा ऐतिहासिक कामहरू गरेको जनतालाई प्रस्ट रहेको उल्लेख गर्दै उनले ‘जहाँ एमाले त्यहाँ विकास’ भन्ने अभियान नै चलाएको स्मरण गराए ।

जनताले टर्च बालेर भक्तपुरमा गठबन्धन दल तथा नेताहरू छन् कि छैनन् भनी जनताले खोजिरहेको उल्लेख गर्दै उनले एमाले जनताको सल्लाह बमोजिम चल्ने पार्टी भएकाले जनताको सुझावको आधारमा नै एमालेका उम्मेदवारको प्रतिबद्धता हुने बताए ।