काठमाडौं । अन्धविश्वासले नेपाली समाजलाई अझै पनि कति गाँजेको छ भन्ने दृष्टान्तका रुपमा नयाँ घटना सार्वजनिक भएको छ । डिप्रेसनबाट पिडित र्‍यापर हप्याक (मिलनजंग कुँवर) लाई विसेक पार्न भन्दै झाँक्री कहाँ पुर्‍याइयो । तर, उल्टै घाइते भएर फर्किए ।

नवलपरासी घर भएका हप्याक रियालिटी शो ‘नेपहपको श्रीपेच’ को टप १४ सम्म पुगेका प्रतिस्पर्धी हुन् । आर्थिक स्थिति कमजोर भएका उनी केही समयदेखि मानसिक तनावमा थिए । नेपहपबाट अलिकति चर्चा पाएपछि उनले स्टुडियो खोल्ने योजना सुनाएको सो रियालिटी शोका निर्माता सुदिप पोखरेल बताउँछन् । पोखरेलका अनुसार आर्थिक समस्याकै कारण हप्याक तनावमा देखिन्थे ।

‘डिप्रेसन भएकै कारण एक्लै–एक्लै बोल्ने, हिँडने गर्दो रहेछ । उसको त्यो अवस्था देखेपछि गाउँका स्थानीय बासिन्दाले ‘यसलाई त बोक्सी चढेछ, झाँक्रीलाई देखाउनु पर्छ’ भन्दै देवीथानतिर लगेछन्,’ उनले भने ।

तर, देवीथान पुर्‍र्याइएलगत्तै हप्याकले थानमा नै थुकिदिएका थिए । त्यसपछि झन् भूतप्रेत लागेको भन्दै झाँक्रीले बेस्सरी कुटेको पोखरेलले बताए । कुटेको मात्र नभएर मुखमा आगोसमेत झोसिदिएको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिन्छ ।‘विचारा मानसिक स्थिति कमजोर भएको मान्छे, जानेर त के थुक्यो होला र । तर, ग्रामीण क्षेत्र भएकाले त्यहाँका स्थानीयबासीमा पनि अन्धविश्वास व्याप्त भएकाले यस्तो परिणाम भोग्नुपर्‍यो,’ पोखरेलले भने ।

हप्याक अहिले सीएमसी (चितवन मेडीकल कलेज) को मेन्टल हेल्थ वार्डमा छन् । आगोले पोलेर उनको मुख पुरै डढेको छ । उनी स्वयमले एउटा भिडियो पोष्ट गरेर आफ्नो मुखमा झाँक्रीले आगो झोसिदिएको बताएका छन् । अर्कोतर्फ अमानवीय व्यवहारका कारण उनको मानसिक स्वास्थ्य बिग्रिएको छ ।हप्याक आफैंले ‘मलाई यहाँका झाँक्रीहरुले यस्तो यस्तो गरे’ भन्दै अलिअलि बोलेर सानो भिडियो क्लीप नेपहपको श्रीपेच पठाएका थिए । उक्त भिडियो देखेपछि टिमले उनलाई सम्पर्क गर्ने कोसिस गर्‍यो । तर हप्याकले फोन उठाएनन् ।

पोखरेलले भने, ‘हामीसँग उसको बुवाआमाको नम्वर पनि थिएन । अनि हाम्रै शोको ‘काले’ भन्ने एकजना प्रतियोगी चितवन जाने कुरा थाहा पाएपछि उसलाई त्यहाँको माहोल बुझ्न पठायौँ । त्यसपछि मात्र हामीले पनि यो घटनाबारे विस्तृत जानकारी पाएका हौँ ।’‘नेपहपको श्रीपेच’ ले आफ्नो फेसबुक पेजमा हप्याकमाथि गरिएको दुव्र्यवहार र कुटपिटको भिडियो हालेको थियो । उक्त शोका एक निर्माता पनि भोलि चितवन जाने भएका छन् । हप्याकसँग उपचारका लागि आवश्यक खर्च पनि नभएको पोखरेलले बताए । आफूहरुले उनलाई मद्दत गर्ने उनको भनाइ छ । र्‍यापरमाथि अमानवीय व्यवहार गर्नेलाई कारबाही गर्नुपर्ने उनले माग राखे ।No description available.