२१ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान गरेकी छिन् ।विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा ८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी आज (सोमबार) बेलुकी आइसल्याण्ड प्रस्थान गरेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हार्दिक विदाई अभिवादन गरे । यसअघि उहाँलाई सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड गएकी हुन् । राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिको भ्रमण दलमा उनीकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याललगायत छन् । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।











