सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ । सत्तारुढ दलको गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधि सभा क्षेत्र एउटा र प्रदेश सभा क्षेत्र दुइटा रहेको जुम्लामा तीन पदका लागि १३ जना चुनावी मैदानमा छन्  । प्रतिनिधि सभातर्फ ४ जना, प्रदेश सभा क्षेत्र (१) मा १ स्वतन्त्रसहित ३ जना चुनावी मैदानमा होमिएका छन् । प्रदेश सभा क्षेत्र (२) मा १ स्वतन्त्रसहित ४ जना उम्मेदवार छन् ।

विसं २०६४ मा नेकपा माओवादी केन्द्र, २०७० मा नेपाली कांग्रेस र २०७४ माओवादी र एमालेबीच गठबन्धन हुँदा माओवादीले जुम्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको थियो । विसं २०७४ मा एक प्रदेशसभा माओवादी र एक एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले-माओवादी र कांग्रेस-राप्रपाले तालमेल गरेका थिए ।

गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा कांग्रेसले पाँच पालिकाको प्रमुख, तीन उपप्रमुखसहित २६ वडाध्यक्ष जितेको थियो । माओवादी केन्द्रले दुइटा पालिका प्रमुख, ४ उपप्रमुख, १९ वडामा अध्यक्ष जितेको छ । एकीकृत समाजवादीले एक पालिकाको उपाध्यक्षसहित ६ वडाध्यक्ष जितेको छ ।

एमालेले कुनै पनि पालिकाको अध्यक्ष र उपाध्यक्ष जित्न सकेन । ६० वडामध्ये छ वडाध्यक्ष मात्रै एमाले जितेको थियो । राप्रपाले कुनै वडाध्यक्ष जितेको छैन । एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । वडाध्यक्षको मत हेर्दा कांग्रेसको ८ हजार ६ सय ५५, माओवादीको ६ हजार ४ सय ३९, एमालेको २ हजार एक सय ५७ र एकीकृत समाजावादीको १ हजार पाँच सय ९६ मत छ। राप्रपाको ५ सय ४० मत रहेको छ ।