काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने आजसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ दुई करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ ।

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ छपाइभइसकेका मतपत्रमध्ये एक करोड २९ लाख ५३ हजार ५०० प्रदेशसभा र एक करोड ४६ लाख ३५ हजार प्रतिनिधिसभाका लागि रहेका छन् । आयोगले छपाइसँगै ढुवानी पनि गरिरहेको छ । मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ ।

आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित मतपत्र प्रयोग गर्ने भएकाले यो पटक निर्वाचन क्षेत्र अनुसार फरक–फरक मतपत्र प्रयोग हुने छ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि देशैँभर एउटै मतपत्र प्रयोग हुने छ । प्रदेश सभाका लागि भने प्रदेशमा कायम रहेका दलको सङ्ख्या अनुसार फरक फरक मतपत्र प्रयोग हुने छ ।