काठमाण्डौ, ४ साउन
चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनसनरमा रहनुभएका डा. गोविन्द केसीका १२ जना समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले केसीको अनसन वेवास्ता गरेको भन्दै बालुवाटारस्थित प्रधानमन्त्री निवासमा धर्ना दिन पुगेका समर्थकलाई निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकालाई कमलपोखरीस्थित महानगरीय प्रहरी वृत्तमा राखिएको छ । यता डा. केसीका माग पुरा गर्न सरकार संवेदनशील नदेखिएको भन्दै वीर अस्पतालका रेजिडेन्ट चिकित्सक समेत आजबाट विरोधमा उत्रिएका छन् । केसीको सर्मथनमा रेजिडेन्ट चिकित्सकले कालोपट्टी बाँधेर काम गरेका छन् ।
यस्तै शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सक, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, वीर अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सकले समेत केसीको अनसनमा ऐक्यवद्धता जनाउँदै विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । केसीको अनसन १० दिन पुगिसक्दा समेत सरकार संवेदनशील नभएको भन्दै शिक्षण अस्पतालका रेजिजेन्ट चिकित्सकले हिजोदेखि वहिरङ विभागका काम गर्न छाडेका छन् ।
यसैवीच नयाँशक्ति पार्टीले डा. केसीको अनसनप्रति ऐक्यवद्धता जनाएको छ । नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले आज केसीलाई भेट्दै अनसनप्रति समर्थन जनाउनुभएको हो । भट्टराई दोस्रो पटक अनसनस्थल पुग्नुभएको हो । भट्टराईले चिकित्सा क्षेत्रमा भएको अनियमितता र बेथिती अन्त्य गर्न केसीले उठाएको माग जायज भएको भन्दै त्यसलाई पुरा गराउन सबै क्षेत्रबाट प्रयास गर्नुपर्ने बताउनुभयो ।।
