दाङ, ४ साउन
आज गुरुपूर्णिमा मनाईंदैछ । आसाढ शुक्ल पूर्णिमाका दिन गुरुपूर्णिमा मनाउने गरिएको छ । आफूलाई अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी उज्यालोतर्फ लैजाने गुरुको सम्मान गर्दै पूजाअर्चना तथा फूलमाला र उपहार प्रदान गरी गुरुपूर्णिमा मनाउने प्रचलन छ । index

वेद, महाभारत, श्रीमद्भागवत, अठार पुराण उपपुराण आदि धार्मिक ग्रन्थका रचयिता वेदव्यासको जन्मजयन्तीलाई परापूर्वकालदेखि गुरुपूर्णिमाका रुपमा मनाउने गरिएको हो । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्नु हो ।

यस्तो अन्धकाररुपी अज्ञानतालाई हटाउन ज्ञान रुपी उज्यालो शिक्षा प्रदान गर्ने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर तथा परब्रह्मस्वरुप मानिन्छ । सनातन हिन्दू मान्यताअनुसार माता–पिता, गायत्री–दीक्षा मन्त्र तथा सङ्गीतलगायत ६४ कला सिकाउने आचार्यलाई गुरुका रुपमा लिइने गरिन्छ ।

वेदव्यासले आफ्ना छोरा शुकदेवसहित ऋषिमुनिहरुलाई वेद–वेदाङ्ग पढाएकाले व्यासलाई प्रथम गुरुका रुपमा मानिन्छ । चारै वेद, महाभारत, श्रीमद्भागवत, अठार पुराण तथा उपपुराणको आजकै दिनमा सम्पादन गरी आफ्ना शिष्यहरुलाई दर्शन दिएकाले आजका दिनलाई गुरुपूर्णिमाका रुपमा मनाउने परम्परा रहँदै आएको छ ।।