सल्यान, ४ साउन
सल्यानका दर्जनबढि ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । मनसुन सक्रिय भएसँगै जिल्लाका दर्जनभन्दा बढी ग्रामीण सडकहरु अवरुद्ध भएका हुन् । कच्ची सडक, पहिरो, खाल्डाखुल्डी र पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले जानकारी दिएको छ ।
ग्रामीण सडक अवस्द्ध भएपछि यात्रुहरु मर्कामा परेका छन् । दाङ रुकुम चौरजहारी, सल्लीबजार चौरजहारी, दाङ –दमाचौर, दाङ– वाफुखोला, सल्यान खलंगा–सल्लीवजार, खलंगा–कालिमाटी रामपुर, खलंगा– लक्ष्मीपुर, खलंगा – लेखपोखरा, श्रीनगर– चिनाली, दाङ– भल्चौर फारुलालगायत एक दर्जनभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएको सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।
जिल्लामा पर्याप्त मात्रामा सडकको विस्तार भए पनि आवश्यकता अनुसार स्तरोन्नति हुन नसक्दा बर्खा लाग्ने बित्तिकै ग्रामीण क्षेत्रका जनता यातायातको पहुँचबाट विमुख बन्दै आइरहेका छन् ।।