काठमाडौं, १८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभाबाट पुनः हुबहु पारित भएको छ ।
प्रतिनिधिसभाबाट २ भदौमा पारित भएको १५ दिनपछि शुक्रबार राष्ट्रिय सभाको बहुमतले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको विधेयक पारित गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विधेयक पुनः हुबहु पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । एमालेको असहमतिमा राष्ट्रिय सभाको बहुमतले विधेयक पारित गरेसँगै ऐन बन्ने सुनिश्चित भएको छ ।
अब राष्ट्रिय सभाको सन्देशसहित विधेयक प्रतिनिधिसभामा आउनेछ । प्रतिनिधिसभाले सन्देश टेबुल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन् । दुवै सदनले दोस्रोपटक पारित गरेपछि अर्कोपटक पुनर्विचारका लागि फिर्ता पठाउने संवैधानिक अधिकार राष्ट्रपतिलाई छैन ।











