सप्तरी, १९ साउन । दुई महिनायता पश्चिम धार कटान गर्दै आएको सप्तकोसी बुधबार उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेबाट तल्लो तटीय क्षेत्र पसेको छ ।

पहाडी क्षेत्रमा लगातारको वर्षासँगै कोसीमा आएको बाढीले कटान तीव्र भइरहेको हो । डुम्रिबोटेमा झन्डै ३ सय मिटर जमिन कटान गरी कोसी बस्ती पसेको छ । नगरपालिकाको १, २, ३, ८ र ९ तथा सुनसरी बराह क्षेत्रका ६ र ९ वडाका धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती जोखिममा परेका छन् ।

डुम्रिबोटेमा कटान गरेर कोसी पुरानै धारमा बग्न थालेपछि सर्वसाधारण त्रासमा छन् । अहिले जहाँबाट कोसीको बाढी पसेको छ, २०४५ सालअघि सोही ठाउँबाट कोसी बग्थ्यो । २०४५ सालको भूकम्पपछि कोसी बिस्तारै धार परिवर्तन गर्दै पूर्वतर्फ लाग्यो । कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछि बस्ती बस्न थाल्यो । अहिले कोसीले धार बदलेर पुरानै ठाउँमा आउँदा बस्ती प्रभावित भएका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बाँधे पनि बाढीले कटान गरिरहेको छ ।

संघीय, प्रदेश र स्थानीय सरकारले कटान नियन्त्रणका लागि दुई महिनायता गरेको प्रयास सफल नहुँदा कोसी बस्तीतर्फ बढेको बेलका नगर प्रमुख अशोक कार्कीले बताए । कटान जारी रहेको र कोसीको मूल प्रभाव पनि पश्चिम ९उदयपुरतर्फ० मोडिएकाले धेरै ठूलो जोखिम देखिएको उनको भनाइ छ । ‘अहिलेकै अवस्थामा कटान भइरहने र बहाव पूर्व मोडिएन भने पुरै कोसी नगरपालिकाको तल्लो क्षेत्र भएर बग्ने निश्चित छ,’ उनले भने, ‘नगरको तल्लो क्षेत्र कोसी बहाव क्षेत्रभन्दा होचो भएकाले उच्च जोखिम छ ।’

कार्कीका अनुसार बेलकामा २ हजार ५ सय घरपरिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका छन् । तीमध्ये १ हजार ८ सयको उद्धार गरिएको छ । श्रीलंका ३, ८ र ९ तथा सुनसरीको बराह क्षेत्र नगरपालिका ६ र ९ का परिवार विस्थापित भएका उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । ‘बुधबार रातिसम्म उद्धार कार्य जारी छ,’ उनले भने । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन् । उद्धार गरिएकालाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर तथा चर्चमा राख्ने तयारी छ । ‘अहिले नगरको ८ र ९ वडाको केही भाग साथै ३ नम्बर वडाको अधिकांश भाग डुबान भइसक्यो,’ नगर प्रमुख कार्कीले भने, ‘डुबान बढ्दै गएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लगिरहेका छौं ।’ प्रभावित क्षेत्रका स्थानीय घरमा भएको खाद्यान्न, लत्ताकपडा र बस्तुभाउ लिएर सुरक्षित स्थानतर्फ गइरहेको वडा ३ का सदस्य फागुनी कार्कीले बताए । अहिलेकै अवस्थामा कोसी बहाव बढ्दै गए सप्तरीको सप्तकोसी नगरपालिकाका ६ र ७ वडामा समेत असर गर्ने सम्भावना रहेको नगरप्रमुख कृष्णप्रसाद ढकालको भनाइ छ ।

कोसी ब्यारेजका ४६ ढोका खोलिए
यसैबीच, पानीको बहाब बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ४६ ढोका खोलिएका छन् । नदी बेलका नगरपालिकाको डुम्रिबोटेतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाब कम भएको छैन । बुधबार राति ८ बजेको मापनअनुसार ब्यारेज भएर २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले बताए । उनका अनुसार जोखिम बढेपछि सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकामा कोसी तटबन्ध छेउछाउ नजान र तटीय क्षेत्रमा बसोबास गरिरहेकालाई सतर्क रहन आग्रह गरिएको छ । ती क्षेत्रका प्रहरी युनिटलाई परिचालन गरी सूचना लिने काम भइरहेको उनले बताए । कान्तिपुरबाट