काठमाडौं, १८ साउन । वाणिज्य बैंकहरूबाट २ साताको अवधिमा करीब ९१ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल बैंकर्स संघले मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन लागेपछि वाणिज्य बैंकहरूको निक्षेप र कर्जा प्रवाह दुवै घटेको छ ।
साउन लागेपछि वाणिज्य बैंकहरूबाट ९१ अर्ब रुपैयाँ निक्षेप घटेको छ । असार मसान्तमा उनीहरूको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा साउन १३ गतेसम्ममा घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँ कायम भएको संघको भनाइ छ ।
साउन पहिलो साता वाणिज्य बैंकहरूबाट ६४ अर्ब र दोस्रो साता करीब २८ अर्ब रुपैयाँ निक्षेप घटेको संघले जनाएको छ ।
असारमा भने बैंकहरूको निक्षेप झन्डै डेढ खर्ब रुपैयाँले वृद्धि भएको थियो । जेठ अन्तिममा बैंकहरूसँग कुल ४४ खर्ब रुपैयाँ निक्षेप रहेकोमा असार अन्तिममा ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको थियो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्ट साउन लागेपछि नेपाल आयल निगमले तेल खरीदको रकम भुक्तानी गर्दा बैंकिङ प्रणालीबाट ठूलो रकम घटेको बताउँछन् ।
‘साउन पहिलो साता आयल निगमले भारतीय आयल कर्पोेरेशन ९आईओसी०लाई रकम भुक्तानी गर्दा वाणिज्य बैंकहरूको निक्षेप घटेको हो,’ उनले भने, ‘असार मसान्तमा सरकारले निर्माण व्यवसायीको भुक्तानीका लागि काटेको चेक भुक्तानी गर्दा पनि निक्षेप घटेको हुनसक्छ ।’ यो रकम विस्तारै बैंकिङ प्रणालीमै फर्किने उनको भनाइ छ ।
साउन पहिलो साता आयल निगमले सरकारसँग ऋण लिएर आईओसीको १६ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेको थियो । आयल निगमले एकैपटक ठूलो रकम निकाल्दा वाणिज्य बैंकको निक्षेप उच्च रूपमा घटेको हो । यसैगरी नयाँ आर्थिक वर्ष शुरू भएपछि स्थानीय निकायले खर्च गर्न नसकेको कतिपय बजेट सरकारी कोषमा फिर्ता हुँदा पनि वाणिज्य बैंकको निक्षेप घटेको भट्टले अनुमान गरे । निक्षेपसँगै बैंकहरूको लगानी पनि घटेको छ । संघका अनुसार साउन लागेपछि बैंकहरूको कर्जा प्रवाह ११ अर्ब रुपैयाँले घटेको छ ।
असार मसान्तमा वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेकोमा साउन १३ गतेसम्म घटेर ४१ खर्ब ६४ अर्ब रुपैयाँ कायम भएको छ । साउन पहिलो साता १० अर्ब रुपैयाँ लगानी घटाएका बैंकहरूले दोस्रो साता भने १ अर्बले मात्र घटेको छ अभियानमा खबर छ। तरलता अभावका कारण पछिल्लो समय बैंकहरूले ऋण लगानी बन्द गर्दै असुलीमा जोड दिएका छन् । साउन १३ गते बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ८७ दशमलव ९८ प्रतिशत कायम भएको संघको भनाइ छ ।











