बाँके, ३ साउन
प्रेस मञ्च नेपाल बाँकेले पत्रकार हेमन्त चौधरीलाई समाचार लेखेकै आधारमा आक्रमण गर्ने धम्की दिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य एवम् मिडिया नेपाल बाँकेका अध्यक्ष समेत रहनु भएका चौधरी कोहलपुरबाट प्रकाशित हुने न्यूज नमस्ते दैनिकको कार्यकारी सम्पादक हुनुहुन्छ ।
पत्रिकामा लेखेको समाचारको विषयलाई लिएर एमाले नेता कोहलपुर नगरकमिटीका अध्यक्ष खिलप्रसाद भुसालले सार्वजनिक स्थानमै गाली गलौच गर्दै युवा परिचालन गरेर ठिक पार्ने सम्मको धम्की दिएको घटना पीडित पत्रकार चौधरीले सार्वजनिक गरिसक्नु भएको छ ।
कुनैपनि समाचारमा चित्त नबुझेमा त्यसको खण्डन गर्न र कानुनी उपचारमा जाने बाटाहरु प्रसस्त हुन्छन् । तर पत्रकार चौधरीलाई सार्वजनिक स्थानमा धम्की दिनुले लोकतान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको प्रेस मञ्चले ठहर गरेको छ ।
तसर्थ, पीडित पत्रकार चौधरीको जिउ ज्यानको सुरक्षाका साथै स्वतन्त्र र भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाउन हामी प्रहरी, प्रशासनको ध्यानाकर्षण गराउन चाहन्छौ । साथै पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गर्न सम्वन्धित पक्षसँग माग गरेको अध्यक्ष आशिष कुमार गुप्ताले वताउनुभयो ।।