काठमाडौं, २५ पुस । नेकपा एमालेको ६३ जिल्लामा भएको अधिवेशनमा १९ जिल्लामा मात्रै नेतृत्व सर्वसम्मत चयन भएका छन् । अन्य जिल्लामा सहमतिको प्रयास भएपनि सहमति जुट्न सकेपछि चुनावी प्रक्रिया जाने भएको छ । सहमति जुट्न नसकेका जिल्लामा चुनावी प्रक्रियामार्फत नेतृत्व चयन हुने एमालेले जनाएको छ ।

एमालेले झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रे, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा, रसुवा र पश्चिम नवलपरासीमा सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको छ ।

झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बाँकेमा किस्मतकुमार कक्षपति, धादिङमा भूमि त्रिपाठी, अर्घाखाँचीमा पीताम्बर भुसाल, मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जु, भक्तपुरमा वचन देउजा र गुल्मीमा बालसिंह काउछा जिल्ला कमिटी अध्यक्षमा चयन भएका छन्।

यस्तै खोटाङमा रामप्रसाद दङ्गाल, सप्तरीमा ताराकान्त चौधरी, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, धनकुटामा इन्द्रमणि पराजुली, रसुवामा कर्णेल लामा र नवलपरासी सुस्ता पश्चिममा दीपेन्द्र अधिकारी जिल्ला कमिटी अध्यक्षमा चयन भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छनु ।