दाङ, ३० कार्तिक । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाले गरेको एक दिने नेपाल बन्दका कारण जनजीवन प्रभावित भयो ।

बन्दका कारण दाङमा विहानैदेखि यातायातका साधन सञ्चालनमा आएनन् भने बजारहरु सबै बन्द रहे । शैक्षिक संस्था, कलकारखाना, उद्योगधन्दा सबै ठप्प रहे । बन्दकर्ताहरुले बजारका मुख्य सडक चोकहरुमा उपस्थित जनाएर अति आवश्यक सवारीका साधनहरु वाहेकका सबै क्षेत्र बन्द गराएका थिए । बन्दका कारण यात्रुहरुको आवागमनमा कठिनाइ भयो ।

बन्दकर्ताहरुले दाङमा बन्दको समयमा कही रचनात्कम काम समेत गरे । दाङको केही सडकमा बन्दको क्रममा सडकमा उपस्थित भएका बन्दकर्ताहरुले सडकमा सडक सरसफाइ गर्नुका साथै ट्राफिक चिन्हहरु, जेब्राक्रस बनाएका थिए । सरकारले पछिल्लो दुई सातामा खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर १२५ र मेट्रोल, मट्टितेल र डिजेलमा ६ रुपैयाँ बृद्धि गरेपछि नेकपा विरोधमा उत्रिएको हो । मूल्य बृद्धिको विभिन्न राजीतिक दलका विद्यार्थी संगठनहरुले पनि विरोध गर्दै आएका छन् ।