इन्द्रेणी संवाददाता
दाङ, ३० कार्तिक । नेपाल परिवार नियोजना संघको ४१ औं केन्द्रीय भेला दाङको घोराहीमा शुरु भएको छ । भेलाको उद्घाटन आज मंगलवार अन्तर्राष्ट्रिय परिवार नियोजना संघ दक्षिण एशिया क्षेत्रीय निर्देशक सोनाम मेहताले गरिन् ।

भेलाको उद्घाटन सत्रलाई सम्बोधन निर्देशक मेहताले लामो समयदेखि नेपाल पनि स्वतन्त्र र सेवामूलक संस्था परिवार नियोजनमा होमिएकाले यसको दिगोपनका लागि यहाँकै स्रोत साधन प्रयोग गर्न आवश्यक भएको बताइन् । उनले अन्तर्राष्ट्रिय परिवार नियोजना संघले तीन÷तीन वर्षको योजना बनाएर नेपालमा पनि लगानी गर्दै आएको उल्लेख गर्दै उनले यसको निरन्तरताका लागि आफ्नो तर्फबाट थप पहल गर्ने जानकारी दिइन् । नेपालमा उर्जाशील युवा सक्ति करिव ४० प्रतिशत रहेको भन्दै यो सक्तिले परिवार नियोजनजस्ता विभिन्न सेवामूलक संस्थामार्फत सेवा गर्न सक्ने निर्देशक मेहताको भनाइ थियो ।

संघका केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुुको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाइँ राज्य मन्त्री राजेन्द्र कुमार श्रेष्ठ, राष्ट्रिय सभा सदस्य मुख्य सचेतक अनिता देवकोटा, संविधान सभाका पूर्व सदस्य राजु खनाल, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गतबहादुर शाही, नरेशप्रकाश केसीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

तिर्थ सन्तोषीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण संघ दाङकी सचिव माया पोख्रेलले गरेकी थिइन् । भोलिसम्म चल्ने भेलाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।