काठमाडौँ, २६ कार्तिक । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ८३ दशमलव ४९ रुपैयाँमा खरिद गर्दछ । तर उपभोक्ताको ढाड सेक्ने गरी प्रतिलिटर मूल्य बृद्धि गरेर १ सय ३६ रुपैयाँमा बिक्री गर्ने गरेको छ ।

निगमले इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट नोभेम्बर १ मा ८२ दशमलव २१ रुपैयाँमा खरिद गरेको डिजेल उपभोक्ताले १ सय १९ रुपैयाँमा खरिद गर्न वाध्य छन् ।

मूल्य बृद्धि गरेको दुई साता नविद्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन तीन रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर ७५ रुपैयाँ बढाएको छ । यति गर्दा पनि निगमले भने पेट्रोलमै प्रतिलिटर साढे १७ रुपैयाँ घाटा भइरहेको बताउदै आएको छ ।

कच्चा तेलको मूल्य र डलरका कारण निगम थेग्नै नसक्ने अवस्थामा पुगेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताएका छन् । पछिल्लो समय डलर र कच्चा तेलको मूल्य बढिरहेकाले आईओसीबाटै महँगोमा इन्धन आउने हुनाले त्यसअनुसार मूल्य बढाउनु बाध्यता रहेको निगमले जनाएको छ ।