काठमाडौं, २४ कार्तिक । केपी ओली नेतृत्वको सरकारका राजनीतिक नियुक्ति खारेज गर्दै गठबन्धन सरकारले नयाँ नियुक्तिको प्रक्रिया जारी राखेको छ । मंगलबार सरकारले तीन प्रदेश प्रमुख बदलेको छ ।

राजनीतिक आस्थाका आधारमा कार्यकाल पूरा नहुँदै पटक–पटक प्रदेश प्रमुख बदलिएका छन् । गठबन्धन सरकारले ओली सरकारले नियुक्त गरेको झन्डै एक हजार राजनीतिक नियुक्ति खारेज गर्ने सूची नै बनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । योसँगै अब सातै प्रदेशमा गठबन्धन सरकारले सिफारिस गरेका प्रदेश प्रमुख नियुक्त भएका छन् ।

प्रदेश १ को प्रदेश प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशी नियुक्त भएका हुन् । परियार यसअघि प्रदेश २ को प्रदेश प्रमुख थिए । उनलाई तत्कालीन ओली सरकारले नेकपा विभाजन भएसँगै हटाएको थियो ।

सोमबारकै मन्त्रिपरिषद् बैठकले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी, कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । लगत्तै राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी थिइन् । नयाँ पत्रिकाबाट