काठमाडौं, २४ कार्तिक । आज छठ पर्व । यो पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर मनाइदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिन्छ ।

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बसेकाहरु दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाइ प्रसादस्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गर्ने चलन छ ।

छठ पर्वका लागि तराईका विभिन्न नदी, खोला, पोखरी र जलाशयहरु झकिझकाउ बनाइएको छ । काठमाण्डौको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।