इन्द्रेणी संवाददाता
दाङ, ५ कार्तिक । केही दिनसम्म परेको झरीका कारण दाङमा हजारौं हेक्टरमा किसानहरुले लगाएको धानवालीमा क्षति पुगेको छ । जिल्लाको घोराही, तुलसीपुर, देउखुरी क्षेत्रमा पाकेर भित्र्याउने तयारीमा राखेको धानवाली झरीका कारण क्षति पुगेको हो ।

जिल्लाको क्षतिको विवरण संकलन भइरहेको र बुधवारसम्मको विवरण अनुसार जिल्लाका करीव ८ हजार हेक्टरमा लगाएको धानवाली काम नलाग्ने गरी क्षति भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकृत रूद्रमणि पौडेलले जानकारी दिए ।

‘तथ्याङ्क आउन बाँकी नै छ, अहिलेसम्मको तथ्याङ्क अनुसार करीव ८ हजार हेक्टरमा किसानहरुले लगाएको धानवाली काम नलाग्ने अवस्थामा पुगेको जानरीमा आएको छ’, उनले भने । धेरै ठाउँमा भित्र्याउनका लागि काटी सकेको अवस्थाको धान डुवानमा परेर क्षति पुगेको छ । जिल्लाका कहाँ कति क्षति भयो भनेर पालिकाहरुले तथ्याङ्क संकलन गरिरहेको सूचना अधिकृत पौडेलले बताए ।