इन्द्रेणी संवाददाता
दाङ, १ असोज । घोराही उपमहानगरपालिका वडा नं. २ रहेको रामपुर बजार अनुगमन गरिएको छ । घोराही उपमहानगरपालिकाको नेतृत्वमा आज शुक्रवार बजार अनुगमन गरिएको हो ।

111 copyअनुगमनका क्रममा अधिकांश पसलहरु स्थानीय निकायमा दर्ता नभएको पाइएको थियो । सम्बन्धित स्थानीय निकायबाट पनि व्यवसाय सञ्चालनका लागि अनुमति लिनुपर्ने भएपनि घरेलु तथा साना उद्योग कार्यालयबाट मात्रै अनुमति लिएर व्यवसाय सञ्चालन गरेको पाइयो ।
2त्यस्तै अनुगमन गरिएका अधिकांश पसलहरुमा म्याद गएका सामग्रीहरु फेला परेका थिए भने होटलहरुमा सरसफाइको कमी देखिएको थियो । ग्रामीण क्षेत्रसँग जोडिएको रामपुर बजारका अधिकांश पसलहरुमा म्याद गएका सामान फेला परेकाले उपभोक्ताहरुको स्वास्थ्यमा व्यवसायहरुले नै खेलवाड् गरेको पाइएको थियो । अनुगमन टोलीले म्याद गुर्जेका सामानहरु बरामद गरी अस्थायी प्रहरी पोष्ट रामपुरको जिम्मा लगाएको थियो ।

3‘म्याद गएका र नगएका सामानहरु सँगसँगै राखेको पाइयो यसरी राख्दा त्यो म्याद गएको सामान उपभोक्ताहरुसम्म पनि गएको हुन सक्छ’, घोराही उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारीले भने, ‘यो उपभोक्ताको स्वास्थ्यमा सिधै खेलवाड् हो ।’

5त्यस्तै एक किराना पसलमा पेट्रोलदेखि खाना पकाउने ग्याँससम्म एकै ठाउँबाट विक्री वितरण गरिएको पाइएको थियो । ग्याँस विक्रीका लागि व्यवसायीले छुट्टै अनुमति दिनुपर्छ भने पेट्रोल विक्री गर्ने किराना पसललाई अनुमति नै छैन । त्यस्तै अनुगमनका क्रममा नाप तौलका साधनहरु समयमा नविकरण नगराएको, तरकारीका विउविजनहरु कुनै विवरण नै उल्लेख नगरी प्लाष्टिकका पोकामा राखेर विक्री गरिएको, विक्री वितरणको विलहरु गैरजिम्मेवारी रुपमा प्रयोग गरिएको लगायतका समस्याहरु देखिए ।  नाप तौलका साधन नविकरण गर्नका लागि जिल्लाका व्यवसायी साधन नै बोकेर नेपालगञ्ज जानुपर्ने वाध्यता रहेको छ । यसले गर्दा पनि नाप तौलका साधन समयमा दर्ता नविकरण गर्न समस्या भएको व्यवसायीहरुको गुनासो छ ।

4सो अवसरमा अनुगमन टोली सबै प्रक्रिया पु¥याएर व्यवसाय सञ्चालन गर्न र म्याद गएका अखाद्य वस्तु विक्री वितरण गरेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड नगर्न सुझाएको थियो । अनुगमनमा घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रीधर अधिकारी, वासुदेव पोख्रेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेल, जिल्ला प्रशासन कार्यालयका गंगाराम पोख्रेल, मिना सुवेदी, सम्बन्धित वडाका जनप्रतिनिधि, अस्थायी प्रहरी पोष्ट रामपुरका सुरक्षाकर्मीलगायतका सहभागीता थियो । बजारका करीव एक दर्जन पसलमा अनुमगन गरिएको थियो ।

५७ किलो गुणस्तरहिन खुवा नष्ट
यसैगरी घोराहीस्थित ॐ स्वीट हाउसमा गुणस्तरहिन ५७ किलो खुवा नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङ, घरेलु तथा साना उद्योग कार्यालय गुण नियन्त्रण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट खटिएको टोलीले मिठाइ बनाउनका लागि राखिएको ५७ किलो अखाद्य खुवा नष्ट गरेको हो ।